इथियोपियामा सरकारविरोधी प्रदर्शनका क्रममा दर्जनौँ मानिस मारिएका छन्। इथियोपियाको ओरोमिया र अमारा क्षेत्रमा ती प्रदर्शनहरु भएका हुन्।
सप्ताहन्तमा प्रदर्शनकारीहरुले सरकारविरोधी नाराबाजी गर्दै जेलमा रहेका केही विपक्षी नेताहरुको रिहाइको माग गरेका थिए। इथियोपियामा कार्यरत मानवअधिकारवादी सँस्थाहरु र विपक्षी समूहहरुले ती प्रदर्शनमा पचासभन्दा बढी मानिसको मृत्यु भएको दावी गरेका छन् भने सरकारी सञ्चारमाध्यमले शान्तिविरोधी शक्तिहरुले अवैधानिक रुपमा प्रदर्शन गरेको जनाएको छ।
एमनेस्टी इन्टरनेसनेलले भने सरकारी सुरक्षा फौजले शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुमाथि गोली चलाएको र ९० भन्दा बढीको मृत्यु भएको जनाएको छ।
करिब दुई दशकदेखि ओल्काएत जिल्लाको जमीन गैह्रकानुनी रुपमा अर्कै जिल्लालाई दिइएको विषयमा सो क्षेत्रमा तनाव जारी रहेको छ। विरोधीहरुले सरकार मानवअधिकारको उल्लंघन तथा जातीय समूहको सीमान्तीकरण गरेको आरोप लगाउँदै आएका छन्।
मानवअधिकारवादी सँस्थाहरुका अनुसार इथियोपिया अफ्रिकाकै सबैभन्दा दमनकारी राज्यमध्ये एक हो। सोमबार सरकारले परिस्थिति आफ्नो नियन्त्रणमा रहेको जनाएको छ। एजेन्सीको सहयोगमा ।