किभ (युक्रेन) । पूर्वी युक्रेनको पृथकतावादी आन्दोलनको नेतृत्व गरेको लुगान्सका पिपुल्स पार्टीका प्रमुख नेता इगारेर प्लटनिटस्की शुक्रबार कार विस्फोटनमा परी घाइते हुनुभएको छ । विद्रोही नेता प्लटनिटस्कीको कार नजिकै भएको शक्तिशाली बम विफोस्टमा परी उहाँ घाइते बन्नुभएको रसिया समर्थक विद्रोहीद्वारा सञ्चालित न्युज एजेन्सीले शुक्रबार बताएको छ ।
विद्रोही नेता प्लटनिटस्कीको हत्या प्रयासमा युक्रेनी सरकारी पक्ष संलग्न नभएको कुरा युक्रेनी सैनिक प्रवक्ता अलेक्जायण्डर मोटुजियानिकले पत्रकारसँगको कुराकानीमा बताउनुभएको छ । उहाँले घटना विद्रोही भित्र शक्तिका लागि भएको आन्तरिक सङ्घर्षसँग जोडिएको हुनसक्ने प्रवक्ता मोटुजियानिकले बताए ।
रसिया पक्षधर विद्रोही समूहका पूर्व कमाण्डर प्लटनिटस्की सन् २०१४ मा लुगान्सक क्षेत्रको प्रतिनिधिका रुपमा निर्वाचित भएको विद्रोहीले बताएको छ । उहाँको प्रतिनिधित्वलाई किभले मान्यता दिएको छैन । लुगान्सक पूर्वी युक्रेनका विद्रोही नियन्त्रित दुई प्रान्तमध्ये एक सानो प्रान्त हो । युक्रेन सरकार र विद्रोहीबीच उक्त इलाकालाई लिएर सन् २०१४ देखि द्वन्द्व जारी छ । द्वन्द्वका क्रममा उक्त क्षेत्रमा करिब नौ हजार ५०० युक्रेनी नागरिकको मृत्यु भइसकेको छ ।
सन् २०१५ को डिसेम्बरमा उक्त क्षेत्रमा यस्तै विष्फोटन हुँदा विद्रोही नेता पाभेल डेमोभको मृत्यु भएको थियो । यस घटनामा सरकारी सेनाको हात रहेको विद्रोही बताउँदै यसलाई आतंकबादी हमला पनि बताउँदै आएको छन् । उक्त घटनामा सरकारको संलग्नता नभएको तर विद्रोही भित्रको आन्तरिक सङ्घर्षका कारण डेमोभको हत्या गरिएको सरकारी पक्षको दावी छ ।
युक्रेन तथा पश्चिमा मुलुकहरुले पूर्वी युक्रेनमा रसियाली सेनालाई सीमा क्षेत्रमा तैनाद गरी विद्रोही यूक्रेन विरुद्ध लडाइ गर्न सघाएको आरोप लगाउँदै आएका छन् भने रसियाले उक्त भनाइलाई खण्डन गर्दै आएको छ ।