–कुमार चौलागाई
काठमाडौँ । त्रिभुवन विश्वविश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुल दिक्षान्त समारोहमा भाग लिन यसवर्ष दखि अनलाइन बाट फारम भर्न पाउने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।
योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्थाको पनि अन्त्य भएको छ ।
विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । भदौ महीनाभर फाराम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फाराम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गरेकामा अब यस्तो समस्या अन्त्य भएको उक्त कार्यालयले जनाएको छ ।
उपत्यका भित्र र उपत्यकाबाहिर रहने विद्यार्थीले समेत अनलाइनबाट सिधै फाराम भरेर नाम दर्ता गर्न सक्ने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौँ आउँदा हुने भएको छ ।
दीक्षित हुने विद्यार्थीलाई फाराम भर्ने प्रयोजनका लागि छुट्टै वेब पोर्टल निर्माण गरिएको छ । जुन मोबाइलबाट समेत खोल्न सकिने खालको छ । विद्यार्थीले आफ्नो मोबाइलबाट www.tu.graduationnp.com मा लग इन गरेर आफ्नो विवरणहरु छ चरणमा प्रविष्ट गर्नुपर्नेछ ।
यसका साथै अनलाइन फाराम भर्ने विद्यार्थीले अनलाइन फाराम भरिसकेपछि ई–सेवाको माध्यमबाट शुल्क पनि बुझाउन सक्नेछन् । ई–सेवाको खाता हुने विद्यार्थीहरुले सिधै भुक्तानी गर्न सक्नेछन् भने ई–सेवाअन्तर्गत खाता नहुने विद्यार्थीलाई त्रिविको पोर्टल सिस्टमले नै टोकन नं उपलब्ध गराउनेछ ।
विद्यार्थीले उक्त टोकन नं लिएर नजिकैको ई–सेवा प्रदान गर्ने पसलमा गएर तोकिएको दस्तुर तिर्नुपर्नेछ । दस्तुर तिरेको निस्सा विद्यार्थीले तुरुन्तै पाउनेछन् । त्यसपछि त्यहीँबाट विद्यार्थीलाई चार प्रकारका विवरण उपलब्ध हुन्छ । पहिलो, दस्तुर बुझाएको नगदी रसिद, जुन दीक्षान्त समारोहमा भाग लिन जानुअघि परीक्षा नियन्त्रण कार्यालयमा गई रुजु गराएर छाप लगाएपछि मूल प्रमाणपत्र प्राप्त गर्न आवश्यक हुन्छ र दोस्रो यो दीक्षान्त समारोहमा प्रवेश गर्ने निस्सा होे, जुन यसअघिका दीक्षान्त समारोहमा प्रवेशपत्रका रुपमा कार्यालयले उपलब्ध गराउँदै आएको थियो ।
भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा रहेका र काठमाडौं आएर दीक्षान्तको फाराम भर्न सम्भव नहुने विद्यार्थीले समेत यो प्रविधिको प्रयोगबाट अब फाराम भर्न सक्नेछन् । उनीहरुले अनलाइनबाट फाराम भरेर नाम दर्ता गरिसकेपछि सिधै दीक्षान्त समारोहमा भाग लिनका लागि मात्र काठमाडौँ आउँदा हुने कार्यालयले जनाएको छ ।