त्यो कुराकानी पछि अरू पनि विद्रोहमा उत्रेलान् र भिडियो अन्त देखाइदेलान् भन्ने डरले होला दिल्लीको एजेन्टले मेरो टिकट पठाइदिएछ । ११ बजे राति नेपाली भान्छे दिदीले टिकट ल्याएर मेरो हातमा फ्याँकेपछि मलाई आफू नेपाल जान पाउने भएँ भन्ने लाग्यो । हिँड्नुअघि साथीहरूमध्ये कोहीले परिवारलाई भनिदिनू भन्दै फोन नम्बर दिए, कोहीले फोटो पछाडि नम्बर लेखेर दिए । मोबाइलमा भिडियो खिचेर आवाज रेकर्ड गराएर मेरो फोनमा पठाए । नेपालमा प्रहरीलाई यो देखाएर नर्कबाट निकाल्नू भनेर दिदीबहिनीले गुहार मागे । हिँड्नुअघि मैले आफूसँग भएका कपडा त्यहीं छाडेर आएँ । नेपाल फर्कंदा आफूसँग सुको पैसा थिएन । त्यहींकी सरस्वती बहिनीसँग तीन हजार मागें । नेपाल फर्केपछि पैसा फर्काउँछु भनेपछि उनले दिइन् । उनले शरीरमै पैसा लुकाएर राखेकाले त्यो पैसा बचेको थियो । त्यो रात साहूले ट्याक्सीमा हालेर केही केटीहरूलाई अन्य देश पठाउन एयरपोर्ट लैजाँदै रहेछ । म त्यही ट्याक्सीमा बसें । मलाई उनीहरूले पन्छाउनु थियो, त्यसैले केही गरेनन् । एयरपोर्ट आइपुगेपछि भाषा नजानेकाले मलाई कहाँ जाने के गर्ने अन्योल भयो । म यताउता भौंतारिएको देखेर एउटा केटाले इशारामा के भयो भन्यो । मैले आधा हिन्दी आधा नेपाली अनि केही सांकेतिक भाषामा टिकट देखाउँदै मुम्बईको जहाज चढ्न कता जाने भनें । उ सले एयरपोर्टभित्र सघायो । शनिबार बिहान ५स्२० बजेको जहाज चढेर मुम्बई पुगें । चार घन्टाको ट्रान्जिटपछि काठमाडौं आइपुगें । प्रेसरले मेरो ८५ वर्षीय बुबाको प्यारालाइसिस भएको छ । उहाँको दिमागमा रगत जमेको छ । मैले भोगेको यो घटना सहन नसकेर उहाँको स्वास्थ्य अझै बिग्रिएको छ । डाक्टरले जुनसुकै बेला जे पनि हुनसक्छ भनेका छन् । माइती नेपालको सहयोगमा बुबालाई एउटा गेस्ट हाउसमा राखेर उपचार गराइरहेकी छु।
यहाँबाट पठाउने एजेन्टले मलाई जहाँ भेटे पनि मार्छु भनेर धम्की दिएको छ । पत्रिकामा समाचार आएपछि सरस्वती सुनुवारलाई दलालले ओमन पुर्याएछन् । सरस्वतीकी दिदी भन्ने एक महिलाले फोन गरेर मलाई तथानाम गाली गरिन् । तँ आफू नेपाल पुगे भैहाल्यो, किन अरूका बारेमा भन्दै हिँडिस् भनेर हप्काइन्।
मैले त सबै साथीहरूले हामीलाई जसरी भए पनि उद्धार गरिदिनुपर्यो भनेकाले सहयोग गरेकी मात्रै हुँ । पहिले लिएको ऋणमाथि विदेश जान लिएको दुई लाख ऋण थपिएको छ । एजेन्टको मार्छु भन्ने धम्की खानुपरेको छ । नेपाली दिदीबहिनीको उद्धार होस्, म जसरी त्यो नर्कबाट उम्किएँ, उनीहरू पनि मेरो सहयोगले निस्कन सकून् भन्ने मेरो चाहना हो । आफ्नो देश त आइपुगें तर ज्यानको सुरक्षा कसले गरिदिने । म अब विदेश जानेबारे सोच्दिनँ । अन्य दिदीबहिनी पनि कानुनसम्मत तरिकाबाट सञ्चालित कम्पनीमा मात्रै जाऊन् । एजेन्टमार्फत घरायसी कामदारमा कदापि कोही नजाऊन् । नत्र हामीले जस्तै दुःख पाउनु पर्ला ।
सयकडा चारका दरले लिएको ऋण कसरी तिर्नु । मेरो डुबेको पैसा उठाउन र मेरो सुरक्षा गर्न सरकारले सहयोग गरिदेओस् । त्यो नर्कबाट मेरा दिदीबहिनीलाई चाँडै उद्धार गरिदेओस् । अन्नपूर्ण पोष्टबाट