काठमाण्डाै ।
विदेश गएर कमाएको पैसाले घरको ऋण तिरेर छोराछोरीलाई राम्रो पढाउँला भन्ने लागेको थियो । ऋण काढेर पैसा एजेन्टलाई बुझाएपछि असार ११ मा इराक उडाउने पक्का भएको थियो। हामी स्वयम्भूबाट दिल्ली जाने बस चढ्यौं।
नेपाली नाकामा माइती नेपालका प्रतिनिधि र प्रहरीले कता जाने भनी सोधे भारतीय गुम्बामा पढ्दै गरेको छोरालाई भेट्न जाने भन्न सिकाइएको थियो । जति जाँच भए पनि हामी दिल्लीसम्म पुग्यौं । म चढेको बसमा दिल्ली लैजान लागिएका अरू केटी पनि थिए । तर कसैले कसैलाई चिनेका थिएनन् । सबैलाई एकले अर्कालाई नचिनेको जसरी बस्नु भनेकाले उनीहरू कोही बोलेनन्।
दिल्लीको एक गेस्ट हाउसमा तीन दिन बसेपछि हामीलाई हवाईजहाजबाट श्रीलंका पुर्याइयो । विमानस्थलमा तालु खुइलिएको एउटा केटा हामीलाई ट्याक्सी लिएर लिन आयो । द्रुत गतिमा चलाइएको ट्याक्सीमा करिब साढे तीन घन्टाजति बसेर हामी उसको घर पुग्यौं । हामीलाई ट्याक्सीमा लिन आउने घरमालिकले अरबी र श्रीलंकाली भाषा मात्रै बोल्ने गथ्र्यो । त्यसैले उसका कुरा हामीले केही बुझेनौं । ४० वर्षको जस्तो देखिने ऊ पत्नी, एक छोरी र दुई छोरासँग बस्थ्यो । दुई वर्षयतादेखि उनीहरूले केटीहरूलाई बन्धक बनाउँदै बेच्ने गरेको मैले सुनें । यही काम गरी उनीहरूले एयरपोर्टमा ठूलो घर बनाएको पनि जानकारी भयो।
सोही घरमा भान्सेको काम गर्ने उर्मिला पौडेल नामकी नेपाली महिलाले हाम्रो पासपोर्ट, कागजात र पैसा खोसेर घरधनीलाई बुझाइन् । इन्दु भनेर बोलाइने ती महिलाले एकदुई दिनसम्म त मलाई राम्रै व्यवहार गरेकी थिइन् । तर बिस्तारै मैले त्यहाँको वातावारण बुझ्न थालेपछि हप्काउने, मुख छाड्ने, लछारपछार गर्ने एवं हातै हाल्नेसम्म पनि गर्न थालिन्।
म त्यहाँ पुगेपछि अन्य दिदीबहिनीले आफ्ना पीडा सुनाउन थाले । दुवै किड्नी फेल भएका छोराको उपचार खर्च जोहो गर्न विदेश आएको बताउँदै एउटी दिदीले रुँदै ुछोराको उपचार त गराउन सकिनँसकिनँ, यहाँबाट उम्केर जान पाए अनुहारसम्म हेर्न पाइथ्योु भनेको कुराले साथै पीडा दियो। कोही एकल भएपछि छोराछोरीको पालनपोषण र पढाइखर्च जुटाउन त कोही ऋण तिर्न र कोही सुखी जीवन जिउने आसमा त्यहाँ आएको बताउँथे । यी सबै कुरा सुनेर कसले पो मन थाम्न सक्छ र रु त्यो रात दलालको फन्दामा म पनि परें भन्दै ह्वाँह्वाँ रोएँ । दिनहरू कठिन हुँदै गए।
बिहान कालो चिया र दिउँसो दुई बजे नाकै थुनेर खानुपर्ने गनाउने उसिनेको चामलको भात दिइन्थ्यो । कहिले एक मुठी पनि पाइँदैनथ्यो । बाँच्नलाई जस्तो पनि खानै पर्दो रहेछ । दिउँसो २ बजे खाएपछि बेलुका ११ बजे मात्रै माछाको झोलसँग थोरै भात दिइन्थ्यो । पढेलेखेको नभए पनि म अन्याय सहनसक्ने खालकी थिइनँ । प्रेसर हाई भएकाले र सन्चो नभएकाले पनि होला धेरै रिस उठ्थ्यो । ४० कटेकाको भिसा आउँदैन भनेको सुनेपछि म प्रतिकार गर्दै भिसा नआउने भए सकस दिएर किन राखेको ? नेपाल पठाऊ भन्दै कराउँथें । चिसो भुइँमा तन्नाको भरमा सुत्नुपर्ने हुनाले धेरै बिमारी भइसकेका थिए । उपचारका नाममा सामान्य औषधिसमेत खान दिइन्थ्यो । मैले त्यस्तो व्यवहारको विरोध गर्दै गएँ । सेफ्टीट्यांकीमाथिको झ्याल नभएको कोठा भएर होला गुम्सिएर बस्नै नसकिने हुन्थ्यो । कोठामा बाहिरबाटै ताला लगाइएको हुन्थ्यो । ताला खोलेको मौका छोपेर कहिलेकहीं कम्पाउन्डमा निस्कने मौका पाइन्थ्यो । फोन गर्न सिम थिएन । फोटो र भिडियोचाहिँ खिच्न पाइन्थ्यो । मेरो मोबाइल अलि सानो भएकाले राम्रो मोबाइल भएका साथीहरूले घरवरिपरि घुमेर भिडियो खिचेका थिए।
भिडियो हेरेर त्यो ठाउँ पत्ता लगाउन सजिलो होस् भनेर त्यहाँ रहेका ठूल्ठूला नरिवल, सुपारीलगायतका रूख र घरको सेरोफेरो हामीले खिचेका थियौं । हामी सबैले आआफ्नो मोबाइलमा ती भिडियो सारेका थियौं । १५÷१६ दिन अघिको कुरा हो । साहूको छोराले गेट खुल्लै राखेको मौका छोपेर म, सिन्धुलीकी सरस्वती सुनुवार र दोलखाकी एउटी दिदी बेतोडले भाग्यौं । बाटोमा प्रहरी भेटेर आफ्नो पीडा सुनाउन पाइन्छ कि भन्ने हाम्रो आशा थियो । करिब आधा घन्टाजति पर पुगेका थियौं होला, स्कुटरमा साहू आएर हामीलाई पक्रेर फेरि त्यही घरमा लगेर मर्ने गरी पिट्यो । अरूलाई भाँडेको भनेर ममाथिको व्यवहार झन् क्रूर हुँदै गयो । रोगका कारण कमजोर हुँदै गएको शारीरिक अवस्था र कुटपिटले म निकै दुब्लाइसकेकी थिएँ।
जिउँदो लासजस्तै लाग्न थालिसकेको थियो । मैले ज्यानको माया मारिसकेकी थिएँ । साथीहरूलाई म आज मर्छु होला, म मरें भने तिमीहरूले यो रेकर्ड मोबाइलमा हालेर सबैलाई देखाइदिनू भनेकी थिएँ । मैले उनीहरूलाई मलाई नेपाल फर्काइदे, नत्र म यहीं मर्छु भनेर धेरै विरोध गरेपछि त्यहाँको साहूले दिल्लीको एजेन्टलाई फोन गर्यो। अरबी भाषामा यसले अरूलाई पनि भाँड्ने भई भन्यो । साहूले मलाई ला, तेरो नेपाली एजेन्टले फोन गर्यो कुरा गर् भनेर फोन दियो । मैले उसलाई मलाई जसरी पनि टिकट पठाइदे, नत्र म यहीं आत्महत्या गर्छु । यसको भिडियो सबै साथीहरूसँग हुन्छ । यो रेकर्ड पुलिसलाई देखाउन सकियो भने तिमीहरू कारबाहीमा पर्छौ भनेर धम्क्याएँ । कुरा गर्दागर्दै रिसले मैले साहूको फोन भुइँमा फालिदिएँ।