काठमाडाै । भूकम्पले क्षतिग्रस्त काठमाडाैंकाे भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को पुनर्निर्माणको काम शुरु भएको छ। १ सय ६५ वर्ष पहिले स्थापना भएको दरबार हाइस्कुल देशकै जेठो विद्यालय हो।
चीन सरकारको सहयोगमा पुनर्निर्माण गर्न लागिएको नेपालकै पुरानो विद्यालयको शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत यु होङले संयुक्त रुपमा शिलान्यास गर्नु भयाे ।
भूकम्पपछिको पुनर्निर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुनर्निर्माणका आयोजनामा नेपाल सरकार, अर्थमन्त्रालय र चीन सरकारको वाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार दरवार हाइस्कुलको पुनर्निर्माण शुरु भएको हो। विद्यालय पुनर्निर्माणको शिलन्यास गर्दै मन्त्री पोखरेलले पुरानै डिजाइनमा तोकिएकै मितिमा विद्यालय निर्माण हुने विश्वास व्यक्त गर्नु भयाे ।
मन्त्री पोखरेलले आफूले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १० बुँदे मार्गचित्र सार्वजनिक गरेको र त्यसमा सम्पूर्णतामा विद्यालयको अवधारणा पनि समावेश गरेको जनाउँदै पुनर्निर्माणपछि दरबार हाइस्कुल त्यही अवधारणामा अघि बढ्ने जानकारी दिनु भयाे ।
चीन सरकार आफैंले छानेको निर्माण व्यवसायीद्वारा पुनर्निर्माण गर्न लागिएको यो विद्यालयको २० महिनाभित्र निर्माण पूरा गर्नुपर्नेछ।