विर्तामोड । शहरका उच्च माध्यमिक विद्यालयहरुमध्ये सस्तो शूल्कमा राम्रो पठन पाठन गराउने विद्यालय पाउन निकै कठिन छ। बाहिर वातावरण राम्रो देखाएर चर्को शूल्क असुलेर विद्यार्थीलाई राम्रो पढाउने दाबी प्रायः विद्यालयले गरिरहेका हुन्छन्। तर विर्तामोडको सैनिक मोड नजिक रहेको विराटज्योति उच्च मावि उच्च माविहरुको भीडमा फरक पहिचान बनाउन लागि परेको छ।

अचेल विर्तामोड उच्च शिक्षा लिन आउनेहरुको केन्द्र बन्दै गएको छ। उच्च माविहरु भीडमा विराटज्योतिले सस्तो शूल्कमा गज्जबको नतिजा ल्याइरहेको छ। विगत ६ बर्षको नतिजालाई केलाउने हो भने औसतमा ९० प्रतिशत भन्दा ज्यादा विद्यार्थीहरुलाई उत्तीर्ण गराइरहेको विद्यालयका प्राचार्य तारा प्रसाईंले बताए।

प्रसाईंले भने, ‘हाम्रो उद्देश्य नै सस्तो शूल्कमा गुणस्तरीय पढाइ गराउने हो। हामीकहाँ दक्ष जनशक्ति छन्। त्यही नै हाम्रो सम्पत्ति हो।’
२०५३ सालमा स्थापना भएको उक्त विद्यालयले २०६७/६८ शैक्षिक बर्षदेखि उच्च माविका कक्षाहरु सञ्चालन गर्न थालेको हो। तर जति विद्यार्थी आए पनि नाइ नभन्ने उच्च माविहरुको भीडमा उक्त विद्यालयले कक्षा ११ मा जम्मा ६० जना विद्यार्थी मात्र भर्ना लिने गरेको छ। विराटज्योतिमा व्यवस्थापन विषयहरु अंग्रेजी माध्यममा पठन पाठन गराउने गरेको छ।

गएको एसइइ परीक्षामा पनि उक्त विद्यालयले गतिलो नतिजा ल्याएको छ। जम्मा ४२ जना विद्यार्थीमा ६ जनाले ए प्लस्, ११ जनाले ए, २५ जनाले बी प्लस् तथा बी ग्रेड हासिल गरेका छन्। सोही परीक्षा विद्यार्थी दिपेश झाले ३. ८५ जिपिए ल्याएर विद्यालयको गरिमा बढाएको प्राचार्य प्रसाईंले बताएका छन्।
