यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजाअनुसार नियमिततर्र्फ ५८ हजार ६८८ विद्यार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ ।
कार्यालयका अनुसार जिपिए ०.८५ देखि १.२० आएका विद्यार्थीले सिधै कक्षा कक्षा ११ मा भर्ना नभई ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको हो ।
परीक्षा नियन्त्रण कार्यालयले प्राविधिक त्रुटि देखाउँदै यस वर्ष विषयगत र प्रदेशस्तरीय नतीजा भने सार्वजनिक गर्न नसकेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीको क्षमता पहिचान गर्न सजिलो हुने भन्दै अक्षराङ्क अर्थात ग्रेडिङ पद्धतिमा नतीजा सार्वजनिक गरेपनि यो पद्धतिमा सुधार नआएको बताए। उनले नतीजा हेर्दा शैक्षिक गुणस्तरमा अझै वृद्धि हुन नसकेको पुष्टि भएको र जिपिए दुईभन्दा तल ल्याउने विद्यार्थीको संख्या ४५ प्रतिशत हाराहारी हुनुले शैक्षिकस्तर अझैमाथि उठ्न नसकेको बताए ।
‘सी’, ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा ‘सी’ वा सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका छन भने त्यस्ता विषयमध्ये विद्यार्थीले चाहेका दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको शिक्षा सचिव खगराज बरालले बताए। शैक्षिक गुणस्तर वृद्धि हुन नसक्नु चिन्ताको विषय भएको उनको भनाइ थिय।
नियमित तथा एक्जाम्टेड गरी परीक्षामा चार लाख ८५ हजार ५८६ विद्यार्थीले फारम भरे पनि २१ हजार ८९७ अनुपस्थित रहेका थिए । आवेदन दिएका विद्यार्थीमध्ये यति धेरै संख्यामा किन परीक्षामा सहभागी भएनन् भन्नेबारे खोजी गर्नु जरुरी छ ।