काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताउनुभएको छ ।
अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उहाँले नेपालको राजनीतिक एवं शैक्षिक आन्दोलनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको छ भन्नुभयो ।
अध्यक्ष दाहालले निरङ्कुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकको ठूलो त्याग र बलिदान भएको बताउनुभयो । नेपाल अब राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटोतर्फ लम्किएको उहाँको भनाइ थियो ।
विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९औँ विश्व सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिले अध्यक्ष दाहाललाई भेट गरेको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो ।