चितवन । नौ वर्ष उमेर पुग्दासम्म बाबुसँगै गिट्टी कुटेको ठाउँमा खेलेर बिताएका एक बालकले आज अभिभावकत्व पाएका छन् । उनकी दिदीले ६ महिना विद्यालय गएर छाडेकी थिईन् । उनका भाइले अहिलेसम्म विद्यालय देखेका छैनन् । तर उनलाई आज त्यसै क्षेत्रका सांसदसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व प्रदान गर्नुभयो ।
भरतपुर महानगरपालिका–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा दाहालले स्थानीय राजकुमार मुसहरका नौ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष छ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा सहभागी दुवै बालकका अभिभावकले आफ्नो सन्तान पढ्न पाउने भएको भन्दै खुशी प्रकट गरेका थिए । अरुणका बुबा राजकुमारले गिट्टी कुट्ने काम गर्नुहुन्छ । उहाँले अब छोरालाई राम्रोसँग पढाउने प्रतिक्रिया दिनुभयो ।