काठमाण्डौं । सरकारले विद्यालय तहको शिक्षालाई निःशुल्क र विश्वविद्यालय तहको शिक्षालाई अनुसन्धानमूलक बनाउने तयारी गरेको छ । राष्ट्रलाई आवश्यक हुने जनशक्ति निर्माण हुने गरी आवश्यक जनशक्ति निर्माण गर्ने तयारी स्वरुप सरकारले सबै प्रदेशहरुमा एक आवासीय भातृभाषा विद्यालय स्थापना गर्ने योजना अघि सारेको हो ।
शिक्षा मन्त्रालयले ५ वर्षे शैक्षिक मार्गचित्र सार्वजनिक गर्दै आवश्यक्ता र स्थानीय रुचि र चाहना अनुसार पाठयक्रम निर्माण गर्ने योजना अघि सारेको हो । बुधबार अायाेजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बालबालिकाको चाहना अनुसारको पाठयक्रम निर्माणका लागि स्थानीय तहसँग परामर्श गरिने बताए ।
उनले शिक्षामा प्रविधिको पहुँच पुर्याउन सबै सामुदायिक विद्यालयहरुमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने बताए । मार्गचित्रमा प्राविधिक शिक्षालाई रोजगारीसँग प्रत्यक्ष जोड्ने, उच्च शिक्षामा राष्ट्रिय स्वयमसेवा कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।
मार्ग चित्रमा अभिव्यक्त नीति, कार्यक्रम र योजनाहरु ठोस कार्यान्वयनका लागि तत्काल गर्नुपर्ने ३ महिने कार्ययोजना भने बैशाख २ गते सार्वजनिक गर्ने मन्त्रालयको योजना छ ।