काठमाण्डाैं । सरकारले ‘स्कुल बस निर्देशिका– २०७४’ जारी गरेको छ । यातायात व्यवस्था विभागले आज पत्रकार सम्मेलन गरी सामुदायिक तथा निजी विद्यालयले विद्यार्थी बोक्ने बसलाई व्यवस्थित बनाउनका लागि निर्देशिका जारी गरेको विभागका निर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।
उहाँले निर्देशिका जारी भएसँगै सबै विद्यालयमा नयाँ शैक्षिकसत्रदेखि लागू गरिने बताउनुभयो । उहाँले विद्यालयले निर्देशिका लागू नगरे कारबाहीसमेत गरिने बताउनुभयो । “हरेक दिन विद्यालय बसको निर्देशिकाअनुसार सञ्चालन भएका छन् वा छैनन् भनेर नियमन हुन्छ”, उहाँले भन्नुभयो, “निर्देशिका अनुसार बस सञ्चालन नगरे विद्यालय तथा चालकलाई कारबाही गरिनेछ ।”
निर्देशिकामा निजी तथा सामुदायिक दुवै विद्यालयका बसको रङ पहेँलो हुनुपर्ने, बस प्रतिघण्टा ३० किलोमिटरका दरले मात्र सवारी चलाउन पाउने, स्कुल बसका सवारी साधनका चालक र सहचालकले विद्यालयले तोकेअनुरुपको पोशाक लगाउनुपर्ने, चालक तथा सहचालक दुवैले अनिवार्यरुपमा परिचयपत्र बोक्नुपर्ने, भाडाका सवारी साधन भए अगाडि पछाडि विद्यालयको नाम, ठेगाना स्पष्ट देखिने गरी ब्यानर राख्नुपर्ने, भाडाका सवारी साधनले बिहान ९ बजेभित्र विद्यार्थीलाई विद्यालय पु¥याउनुपर्नेजस्ता व्यवस्था गरिएको छ ।
यसैगरी निर्देशिकामा भाडाका सवारीले भने पटके बाटो इजाजत लिनुपर्ने, बसको झ्यालमा ग्रिल तथा डण्डी राखिएको हुनुपर्नेछ, विद्यालय बसमा विद्यालयको ठेगाना, फोन नम्बरसमेत राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।