भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बिहीबार बिहान ८ बजेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको तयारी पुरा गरेको छ ।
देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइइ परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी आजै परीक्षा केन्द्रमा पुगेर तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।
अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ ।