बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकामा पर्ने सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब वितरण गरिएकोछ ।
बजेट अभाव भएपछि बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकलाई विकास बजेटबाट तलब वितरण गरिएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताउनुभयो ।
अर्थ मन्त्रालयले आवश्यक रकम निकासा नगरिदिएपछि विकास बजेटबाट तलब खुवाउनु परेको उहाँको भनाइ छ । अर्थ मन्त्रालयले रु दश करोड मात्रै निकासा दिएकाले नगरपालिकाले चार करोड ३५ लाख ३ हजार १६० विकास बजेटबाट थपेर शिक्षकलाई तलबभत्ता वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताउनुभयो ।
दशरथचन्द नगरपालिकाअन्तर्गत ५६ वटा सामुदायिक विद्यालय रहेका छन् ।नगरपालिकाको विकाससहित दुई चौमासिकको तलबभत्ता वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश जोसीले बताउनुभयो । विकास बजेट शिक्षकको तलबमा खर्च भएकाले समयमा निकासा नभए विकास निर्माणका काममा बाधा पुग्ने देखिएको छ ।