एजेन्सी । फोर्ब्स पत्रिकाले वार्षिक रुपमा सार्वजनिक गर्ने संसारका धनीहरुको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २२२ स्थान तल खस्किएका छन् ।
उनको कूल सम्पत्ति ३.५ अर्ब डलरबाट ३.१ अर्ब डलरमा झरेपछि उनी धनीहरुको सूचीमा पछि परेका हुन् ।
फोर्ब्सका अनुसार न्युयोर्कमा रहेको उनको सम्पत्तिको मूल्यमा आएको कमी र गल्फ कोर्सको आम्दानीमा आएको कमीका कारण उनको स्थान खस्किएको हो ।
धनीहरुको सूचीको शीर्ष स्थानमा अनलाइन कम्पनी एमाजोनका संस्थापक जेफ बेजोस रहेका छन् । गत वर्ष ३९.२ अर्ब डलर रहेको सम्पत्ति ११२ अर्ब डलर पुर्याउँदै उनले शीर्ष स्थानमा कब्जा जमाउन सफल भएका हुन् ।
फोर्ब्सको इतिहासमा यो सबैभन्दा ठूलो कमाई पनि हो । यसअघि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्स ९० अर्ब डलर सम्पत्तिका साथ दोस्रो स्थानमा झरेका छन् । अघिल्लो वर्ष उनको सम्पत्ति ८६ अर्ब डलर रहेको थियो ।