टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको डल्लास शहरमा स्थानीय समय अनुसार बिहीवार बेलुका हिंसाविरुद्धको विरोध प्रदर्शनका क्रममा गोली चलेपछि चारजना प्रहरी अधिकारीहरूको मृत्यु भएको छ ।
उक्त प्रदर्शनका क्रममा ११ जना प्रहरीमाथि गोली चलेको अधिकारीहरूले बताएका छन् । गोली लागेकामध्ये केही विभागीय अधिकारी पनि रहेका छन् ।
प्रहरी विभागले जारी गरेको एक फोटोमा देखिएको लामो राइफल बोकेको एक व्यक्तिले आत्मसमर्पण गरेको छ, अधिकारीहरूले बताए ।
उक्त व्यक्तिले प्रहरीमाथि आक्रमण गरेको नगरेको खुलेको छैन । गोली चलाउने व्यक्ति भनी आशंका गरिएको अर्को व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । उक्त व्यक्तिले प्रहरीहरूलाई गोली हानेको थियो ।
एउटा शंकास्पद वस्तु पनि घटनास्थलमा फेला परेको अधिकारीहरूले बताएका छन् । स्थिति अझै तनावग्रस्त रहेको छ ।
प्रहरीले यसै साता लुइजियाना राज्यमा अल्टोज स्टर्लिङ र मिनेसोटा राज्यमा फिलान्डो क्यास्टिललाई मारेको विरोधमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सयौं व्यक्ति डल्लासमा भेला भएका थिए ।
स्थानीय समय अनुसार राति ८ः४५ मा गोलीवारी शुरु भएको थियो । त्यहाँ उपस्थित व्यक्तिहरूले लिएको भिडियोमा व्यक्तिहरू सडकमा विरोध प्रदर्शन गरिरहेका बेला गोलीका आवाज सुनिएका थिए ।
गेली चलेपछि भागाभाग चलेर मानिस सुरक्षित स्थानतर्फ गएका थिए ।
द गार्डियन