काठमाण्डौं । डा गोविन्द केसीले आफ्नो जन्ममिति र विभिन्न समयमा भरेका आवेदनहरुबारे भ्रम पूर्ण समाचार आएको भन्दै खण्डन गर्नु भएको छ ।
आज पत्रकार सम्मेलन गरेर डा केसीले आफ्नो सबै शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१३ असोज २७ गते रहेको प्रस्ट पार्नु भएको छ ।
तर चारित्रिक प्रमाणपत्रमा भने २०१३ माघ २४ गतेको जन्ममिति रहेको उहाँको स्विकारोक्ति छ । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा केसीले चारित्रिक प्रमाणपत्रमा भएको त्रुटिका कारण सेवा दिन असक्षम ठहरिए आजै पदबाट राजीनामा दिने समेत घोषणा पनि गर्नु भएको छ ।
यस्तै पत्रकार सम्मेलनमा नागरिकता र शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका डा केसीले प्रधानन्यायाधीश पराजुलीलाई पनि यसरी खुला रुपमा प्रस्तुत हुन चुनौती दिनु भएको छ ।
प्रधानन्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा सच्याएर कीर्ते बनाएको आरोप लागेको छ भने उहाँले एसएलसीको प्रमाणपत्र पनि पेश गर्नु भएको छैन ।