झापा- विर्तामोडस्थित इष्टर्न सहारा कम्पनीको तेस्रो साधारण सभामा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले राष्ट्र निर्माण र समृद्धिका लागि केवल नेतृत्वलाई मात्र दोष दिएर उम्कन नहुने बताएका छन्।
उनले देशको भविष्य निर्माणमा आम नागरिकको भूमिका र जिम्मेवारी नै निर्णायक हुने स्पष्ट पारे।
हमालले अहिलेको परिस्थितिमा सबैभन्दा शक्तिशाली तत्व नेपाली जनता नै भएको उल्लेख गर्दै निर्वाचनमा जनताले गर्ने एउटा निर्णयले आगामी पाँच वर्षको भविष्य तय गर्ने बताए।
उनले जनतालाई आफ्नो शक्तिको प्रयोग गर्दा अत्यन्तै जिम्मेवार र सचेत हुन आग्रह गरे।
विगतका गल्तीहरूबाट पाठ सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै हमालले भोट दिएर शक्ति हस्तान्तरण गरिसकेपछि गुनासो गर्नु भन्दा निर्णय लिनुअघि नै विवेक प्रयोग गर्नुपर्ने सुझाव दिए।

चिनियाँ नेता देङ सियाओपिङको भनाइ उद्धृत गर्दै उनले व्यवस्था वा परिस्थितिलाई दोष दिएर हात बाँधेर बस्न नहुने बताए। “सरकार ठीक छैन वा परिस्थिति अनुकूल छैन भनेर हतोत्साहित हुनु हुँदैन, चुनौतीकै बीचबाट बाटो खन्दै अगाडि बढ्नु नै वास्तविक उर्जाशील नागरिकको पहिचान हो,” उनले भने।
अन्तर्राष्ट्रिय सम्बन्धबारे बोल्दै हमालले कुनै पनि राष्ट्रले अर्को राष्ट्रलाई वास्तविक दया वा माया नगर्ने टिप्पणी गरे। उनले उदाहरण दिँदै भने, “सिनेमा हल वा बसमा जाँदा आफ्नो सामानको सुरक्षा आफैँ गर्नुपर्छ, त्यसैगरी देशको विकास र सुरक्षाको जिम्मा पनि हामी आफैँले लिनुपर्छ।” छिमेकी वा शक्तिशाली राष्ट्रले नेपाललाई उन्नत भएको देख्न चाहँदैनन्, त्यसैले आफ्नै खुट्टामा उभिन सिक्नुपर्ने उनको भनाइ थियो।

नयाँ नेतृत्वले विगतलाई नकार्दै सस्तो लोकप्रियता कमाउने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै हमालले स्पष्ट कार्ययोजनाको माग गरे। शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता क्षेत्रमा रहेका समस्याहरूलाई रातारात समाधान गर्ने वाचा गर्नु भन्दा दीर्घकालीन योजना प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा इष्टर्न सहारा कम्पनीका शेयरधनी तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।
