काठमाण्डौं । तीन राष्ट्रबीच भएको ट्राइ सिरिज अन्तर्गतको टि – ट्वान्टी ट्रफी अष्ट्रेलियाले जितेको छ । आज बर्षाले प्रभावित भएको फाइनलमा न्युजिल्यान्डलाई डर्क वर्थ लेविसको आधारमा १९ रनले पराजित गर्दै अष्ट्रेलियाले सिरिज जितेको हो ।
जीतसँगै अष्ट्रेलियाले न्युजिल्यान्ड र इंग्ल्यान्डसम्मलित ट्राइ सिरिजमा अपराजित रहँदै उपाधि आफ्नो बनायो । यसअघि अष्ट्रेलियाले चार खेल जित्दै ८ अंक जोडेर शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको थियो ।
न्युजिल्यान्ड चार खेलमा १ जितसहित २ अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । न्युजिल्यान्डसँग बराबर २ अंक जोडेपनि इंग्ल्यान्ड नेट रन रेटमा पछि पर्दै फाइनलमा पुग्नबाट बन्चित भएको थियो ।
न्युजिल्यान्डले दिएको १५१ रनको लक्ष्यसहित अष्ट्रेलियाले जवाफी ब्याटिङ्ग गरिरहँदा वर्षाले खेल रोकिएको थियो । वर्षाले खेल रोकिनुअघि अष्ट्रेलियाले १४ ओभर ४ बलमा ३ विकेट गुमाएर १२१ रन बनाएको थियो ।
त्यसपछि खेल हुन नसक्दा डिएलको आधारमा अष्ट्रेलियाले १०३ रनको नयाँ लक्ष्य पाउँदै खेल १९ रनले आफ्नो बनायो । यस्तै, सिरिज जितेसँगै अष्ट्रेलिया आइसीसी टि – ट्वान्टी क्रिकेटको वरियतामा शिर्ष स्थानमा पुगेको छ । अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै शिर्ष वरियतामा उक्लिएको हो ।