झापा- सातौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले दाबी गरेका छन्।
आइतबार प्रतियोगिता भइरहेको डोमालाल राजवंशी रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा पहिलो पटक फाइनलमा पुगेका दुबै टिमले उपाधि जित्ने उद्घोष गरेका हुन्।
मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कट्वालले अन्य चर्चित प्रतियोगिताहरु छोडेर झापा गोल्डकपमा पूर्ण ध्यान केन्द्रित गरेको बताए।
उनले ‘ए’ टिम मैदानमा उतार्ने घोषणा गर्दै अधिकांश झापाली खेलाडी समेटिएको टिमलाई दर्शकको समर्थनले थप बल मिल्ने विश्वास व्यक्त गरे।
कप्तान बिशाल श्रेष्ठले खेलाडीहरू मैदानसँग परिचित भएकाले होम ग्राउण्डमा खेलेको अनुभवले सहजता दिने बताए। उनले उपाधि जित्नु नै पहिलो लक्ष्य भएको बताए।
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गरेका र नियमित क्याम्पमा रहेका खेलाडीले फाइनलमा सशक्त प्रदर्शन गर्ने बताए।
उनले झापा गोल्डकपलाई नै फोकस गरेर केही समयदेखि तयारी गरेको जानकारी दिए। कप्तान हरी कार्कीले आयोजक टिमलाई पराजित गरेर मनोबल उच्च बनाएको उल्लेख गर्दै सोमबार हुने फाइनलमा उपाधि जितेर नयाँ रेकर्ड बनाउने उद्घोष गरे।
झापा गोल्डकपको विजेताले नगद १५ लाख रुपैयाँ, उपविजेताले ७ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनीको मोटरसाइकल प्रदान गरिनेछ। फाइनलका उत्कृष्ट प्रशिक्षक, स्ट्राइकर र गोलकिपरलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।
साथै, टिकट काटेर खेल हेर्ने एक दर्शकले गोलाप्रथाबाट यामाहा कम्पनीको स्कुटर जित्ने अवसर पाउनेछन्।
