झापा- बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब विजयी भएको छ।
आयोजक झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले फाइनलको यात्रा तय गरेको हो। यो जितसँगै एपीएफले प्रतियोगिताको उपविजेताले पाउने कम्तीमा ७ लाख ५० हजार रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ।
खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। खेलको ६१ औँ मिनेटमा नारायण क्षेत्रीको कर्नरमा विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। तर, झापाको यो अग्रता लामो समय टिक्न सकेन।
६७ औँ मिनेटमा एपीएफका स्ट्राइकर नविन लामाले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि खेल बराबरीमा आएको थियो। खेलका दौरान दुवै टोलीले केही सुन्दर अवसरहरू गुमाएका थिए।
टाइब्रेकरमा एपीएफका तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरे भने नविन लामाको प्रहार झापाका गोलकिपरले रोकेका थिए।
झापाका तर्फबाट रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गर्न सके। एपीएफका गोलकिपर एञ्जल श्रेष्ठले झापाका दुई प्रहार बचाउँदै टोलीलाई जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै २५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोलि शनिबार त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच हुनेछ। फागुन ४ गते हुने फाइनल खेलको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
साथै, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल र अन्य विधागत उत्कृष्टलाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। दर्शकहरूका लागि समेत उपहारको रूपमा टेलिभिजन र स्कुटरको व्यवस्था गरिएको छ।
