झापा — मच्छिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण’को उपाधि चुमेको छ।
अधिकांश स्थानीय झापाली खेलाडीहरू समेटिएको मच्छिन्द्रले झापा गोल्डकपको इतिहासमा पहिलोपटक यो गरिमामय ट्रफी उचाल्न सफल भएको हो।
उपाधिसँगै मच्छिन्द्रले यो वर्षको नेपालकै सर्वाधिक राशिको पुरस्कार १५ लाख रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गरेको छ। उपविजेता बनेको एपिएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ। व्यक्तिगत विधातर्फ पनि मछिन्द्रकै वर्चस्व रह्यो। सर्वोत्कृष्ट खेलाडीमा पेमा तामाङ (मच्छिन्द्र)ले यामाहा मोटरसाइकल पाए। प्लेयर अफ द म्याचमा प्रदिप बुढाथोकी (मच्छिन्द्र)ले २५ हजार रुपैयाँ पाए। उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ (मच्छिन्द्र) घोषित भए। उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल (मच्छिन्द्र) र उच्च गोलकर्ता जोनाथन जोरिल्ला (मच्छिन्द्र) घोषित भए। उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए।
खेलको ३१औँ मिनेटमा मच्छिन्द्रका प्रदिप बुढाथोकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफकै ४५औँ मिनेटमा फ्रयाङ्क अनोहले अर्को गोल थपेपछि मच्छिन्द्र २-० ले अगाडि बढ्यो। दोस्रो हाफको ८३औँ मिनेटमा डिफेण्डर अलिसन अलिजोनोभले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
यता एपिएफका लागि खेलको ८२औँ मिनेटमा दिपेश धिमालले एक सान्त्वना गोल फर्काएका थिए। खेलको ७६औँ मिनेटमा डिफेण्डर मानबहादुर राना मगरले रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित एपिएफले थप दबाब झेल्नुपरेको थियो।
प्रतियोगितामा नेपालका तीन विभागीय टोलीहरू सहित चर्च ब्वाइज, आयोजक झापा-११ तथा भारत, भुटान र मलेसियाका गरी कुल १० टोलीको सहभागिता रहेको थियो।
समापन समारोहमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं लगायतले विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।
सोही अवसरमा पूर्व राष्ट्रिय खेलाडी नरोत्तम गौतमलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो भने गोलाप्रथाबाट दर्शक प्रिती मोक्तानले स्कुटर प्राप्त गरिन्।
