काठमाण्डौं । धनगढी प्रिमियर लिग क्रिकेटको अक्सनबाट ७२ खेलाडी बिक्री भएका छन् । राजधानीमा आज भएको अक्सनमा सहभागी ६ टोलीले ७२ खेलाडीलाई खरिद गरेका हुन् ।
कुल ५० लाख ९० हजार खर्च रहेको अक्सनबाट करण केसी, बसन्त रेग्मी, सागर पुन र आरिफ शेख महँगो मूल्यमा बिक्री भए ।
अक्सनमा करण, बसन्त, सागर र आरिफ अधिकतम मूल्य १ लाख ५० हजारमा बिक्री भएका हुन् । करण र आरिफलाई महेन्द्रनगर युनाइटेडले किनेको हो । यस्तै सागरलाई रुपन्देही च्यालेन्जर्स र बसन्तलाई विराटनगर किंग्सले क्लबमा भित्रायो । अक्सनबाट ए क्याटेगोरीतर्फ नै पृथु बास्कोटा र नरेश बुढाएर पनि १ लाख बढी मूल्यमा बिक्री भएका छन् ।
पृथुलाई विराटनगर किंग्सले १ लाख २० हजारमा किनेको छ भने नरेशलाई काठमाडौं गोल्डेन्सले १ लाख २० हजारमै खरिद गरेको छ । त्यस्तै जितेन्द्र मुखियालाई रुपन्देही च्यालेन्जर्सले ९० हजार, राजेश पुलामी मगरलाई टिम चौराह धनगढीले ८० हजार र अभिनाष कर्णलाई महेन्द्रनगरले ८० हजारमै क्लबमा भित्राएको छ ।
यस्तै प्रदीप ऐरीलाई रुपन्देहीले ८० हजारमा खरिद गर्दा सुबास खकुरेललाई सिवाईसी अत्तरियाले ८० हजार मै किनेको छ । अक्सनको बि क्याटेगोरीतर्फ सबैभन्दा बढी खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् ।
बी क्याटेगोरीका २१ खेलाडी अधिकतम मूल्य १ लाखमा बिक्रि भए । धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा चैत १७ गतेदेखि वैशाख १ सम्म डीपीएल सञ्चालन हुनेछ ।