काठमाण्डाैं। सरकारले मुग्लिन–नारायणगढ सडक खण्डका थप १४ वटा पुलकोहरुको पनि पुनर्निर्माण गर्ने भएको छ ।
सो खण्डमा रहेका पुलहरु जीर्ण भएर जोखिमपूर्ण अवस्थामा पुगेकाले त्यसलाई पुनर्निर्माण गर्ने योजना बनाइएको हो । अहिले पनि केही पुलहरुको निर्माण सडक विस्तारसँगै भइरहेको छ ।
तर, सडक विस्तार भएपछि अहिलेको जीर्ण पुलले भार थेग्न नसक्ने भएकाले पुल निर्माणको काम पनि अघि बढाउन खोजिएको हो ।
पुनर्निर्माणका लागि सडक विभागले विश्व बैंकसँग सहयोग मागेको छ । मुग्लिन नारायणगढ सडक खण्डको विस्तारमा अहिले विश्व बैंकले नै सघाएको छ । आफ्ना सहयोगमा सञ्चालित सडक आयोजनाको समीक्षा गर्न विश्व बैंको टोली अहिले नेपाल भ्रमणमा छ ।
मुग्लिनबाट नारायणगढसम्मका १४ वटा पुल पनि बनाउन विश्व बैंकलाई प्रस्ताव गरिएको विभागका वैदेशिक सहयोग महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिनु भयो । १४ वटा पुललाई पूर्ण रुपमा भत्काएर नयाँ बनाइनेछ ।