काठमाण्डाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नियमसम्मत ढंगले कारोवार नगर्ने व्यवसायीलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।
समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले नियमसम्मत ढंगले कारोबार नगर्ने व्यवसायीलाई कडा कार्वाही गर्न बाध्य हुने चेतावनी दिनु भएको हो ।
उहाँले तोकिएको मूल्य अनुसार तरकारी तथा फलफूलको कारोबार गर्ने व्यवसायीलाई पुरस्कृत गर्दै लगिएको पनि बताउनु भयो । समितिले बजार सुधार अभियानलाई तीव्रता दिने प्रतिवद्धता पनि जनाएको छ ।
आज समितिको २४ औं वार्षिकउत्सव कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले बजार सुधार अभियानमा सुधार ल्याउन फोहोरमैला व्यवस्थापन गर्न प्रधानमन्त्री कृषि कार्यक्रमसँग सहकार्य गरेर काम अघि बढाइएको पनि जानकारी दिनु भयो ।
समितिले उत्कृष्ट ढंगले बजारमा तरकारी तथा फलफूल कारोबार गर्ने व्यवसायीलाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।
सरकारले आम उपभोक्तालाई ध्यानमा राखेर कालीमाटीमा फलफूल तथा तरकारी बजार आजभन्दा २४ वर्ष अघि नै संचालनमा ल्याएको हो ।