काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका घनाबस्तीमा बहुस्वामित्वका बहुतले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नेतृत्वमा आज बसेको प्राधिकरण, काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रतिनिधिसहितको बैठकले भूकम्पपछि उपत्यकामा क्षतिग्रस्त घर पुनःनिर्माण हुन नसकेको अवस्थालाई ध्यानमा राखेर जग्गा एकीकरण (हाउस पुलिङ) प्रणालीका माध्यमबाट बस्ती विकास गर्ने निर्णय गरेको हो ।
भूकम्पले उपत्यकामा एक लाखभन्दा बढी घर भत्किएका थिए । हालसम्म २० प्रतिशत पुनःनिर्माण मात्र शुरु भएको छ । थोरै जग्गामा घर बनेका कारण ८० प्रतिशत घरको पुनःनिर्माण शुरु भएको छैन । संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे दुवै महानगरपालिकाका प्रमुखसहितको बैठकले जग्गा एकीकरण प्रणालीमा जाने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत भुसालले बताउनुभयो ।
कार्यदलले उपत्यकाभित्र जग्गा एकीकरणको माध्यमबाट कुन कुन ठाउँमा नमूना बस्ती बसाल्न सकिन्छ भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिनुभयो ।