काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनका क्रममा भोलि माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनमैत्री वातावरण बनाउन सरकार, राजनीतिक दल र उम्मेदवार सरोकारवाला सबैसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “आयोगले निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको थियो । तर प्रदेश नं २ मा आठै पदमा उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नु भएकाले त्यहाँ मतदान गर्नु नपर्ने र अब बाँकी ६ वटा प्रदेशमा मात्रै मतदान हुनेछ ।”
नेपालको संविधानको धारा, ८६ मा प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतका आधारमा एकल सङ्क्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था छ ।
महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि भने सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् ।
कूल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसक्नुभएको जानकारी गराउँदै प्रमुख आयुक्त डा यादवले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेको बताउनुभयो ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहनुभएको छ ।
प्रदेश नं २ मा सबै निर्विरोध निर्वाचित हुनु भएकाले भोलिको निर्वाचनमा बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेश सभाका ४४३ गरी कूल एक हजार ६७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।