काठमाण्डाैं । संयुक्त राष्ट्रसंघले वैदेशिक रोजगारीमा जानेहरुमाथि श्रम शोषण हुन नदिन नेपाल सरकारले कडा निगरानी राख्नुपर्ने जनाएको छ ।
संयुक्त राष्ट्र संघका विशेषदूत फिलिपे गोन्जालेज मोरालेसले वैदेशिक रोजगारमा जानेमाथि शुल्क असुल गर्ने र शोषण गर्नेमाथि नेपाल सरकारले शुन्य सहनशीलताको नीति लिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।
उहाँले श्रम सम्झौता नगरी कुनै पनि नागरिकलाई वैदेशिक रोजगारीमा पठाउन नहुनेतर्फ पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मानव अधिकारको पक्षमा नेपाल सरकारले चालेको कदमबारे अध्ययन गर्न नेपाल आउनु भएका विशेषदूत मोरालेसले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीमा जाने कामदारहरुमाथि विभिन्न शिर्षकमा असुल्ने शुल्क पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि राख्नु भयो ।
विशेषदुत मोरालेसले अनुगमन कार्य प्रभावकारी हुन नसक्दा नेपाली कामदारको श्रम शोषण हुने गरेको पनि स्पष्ट पार्नु भयो । संयुक्त राष्ट्र संघले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई दक्ष बनाउन आवश्यक क्षमता वृद्धि सम्बन्धि तालिम दिन पनि नेपाल सरकारलाई आग्रह गर्दै आएको छ ।