काठमाण्डाैं । जग्गाधनी मुआब्जा लिन आएपछि केही वर्ष अघिसम्म अन्योलमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले गति लिन थालेको छ ।
विमानस्थलको जितपुर सिमरास्थित आयोजना कार्यालयमा मुआब्जा लिने तथा निवेदन दिनेको लर्को लाग्न थालेपछि आयोजनाले पनि निर्माण प्रक्रियालाई तीव्रता दिन थालेको हो ।
आयोजनाले एक वर्षअघि विमानस्थलको चार किल्ला छुट्याउन वातावरणीय मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेपछि मुआब्जा लिन आलटाल गर्नेहरू अब मुआब्जाका लागि आयोजना कार्यालयमा धाउने गरेको आयोजनाका व्यवस्थापक रामहरि महर्जनले जानकारी दिनु भयो । कोलहबी नगरपालिकाअन्तर्गत पर्ने काटगाउँका १० बिगाहा र ककडीका १०० बिगाहा जग्गा विमानस्थलभित्र पर्ने भएको छ ।
विमानस्थल निर्माणका लागि ११ हजार ८ सय ७५ बिगाहा क्षेत्रफलमध्ये ११० बिगाहा नम्बरी जग्गा अधिग्रहण गर्न आयोजना सफल भएको छ ।