काठमाण्डौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास निर्माणका लागि १ लाख थप रकम दिने सरकारको निर्णयबारे अनभिज्ञता प्रकट गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पपछिको आवास निर्माणका लागि १ लाख रकम थप गर्ने सरकारको निर्णयबारे आफूलाई थाहै नभएको प्रतिक्रिया दिनु भएको हो ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले भूकम्प पीडित आवास निर्माणका लागि थप १ लाख दिने सरकारको निर्णयबारे प्राधिकरणमा कुनै औपचारिक जानकारी नआएको पनि स्पष्ट पार्नु भयो । प्रमुख कार्यकारी अधिकृत भुसालले यो आर्थिक वर्ष भित्र सरकारले निर्णय गरेपनि आवास निर्माणका लागि थप १ लाख दिन सक्ने अवस्था नरहेको दावी समेत गर्नु भयो ।
प्राधिकरणले चालू आर्थिक वर्ष भित्र आवास निर्माणका लागि तेस्रो किस्ताको रकम वितरण गरिसक्ने योजना पनि बनाएको छ । त्यसका लागि थप ४८ अरव रुपैयाँ अर्थ मन्त्रालयलाई तत्काल निकासा गर्न पनि आग्रह गरिएको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक भुसालले जानकारी दिनु भयो । सरकारले यस वर्ष तेस्रो किस्ताका लागि ५३ अरव बजेट निकासा गरेको छ ।
प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणका लागि प्राविधिक जनशक्तिको अभाव नभएको दावी समेत गरेको छ ।