काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले २१ आँै शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।”
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सार्क क्षेत्रका देशको आर्थिक समृद्धिका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।
उपराष्ट्रपति पुनले भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका अहं रहने चर्चा गर्नुभयो । सम्मेलनमा सार्क क्षेत्रका लेखा व्यवसायी संस्थाका प्रमुखको सहभागिता रहेको छ । वित्तीय प्रणालीका विविध आयाम, आर्थिक समृद्धि, लेखा व्यवसायीको क्षमता अभिवृद्धि माथि छलफल हुनेछ ।