काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ ।
नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेको शाखाको विस्तारित बैठकले दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको प्रत्याभूति नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम बिँडारीले बताए ।
बाह्रबुँदे ककनी घोषणापत्र सार्वजनिक गर्दै शाखाले निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउनसमेत माग गरेको छ ।
घोषणापत्रमा बढ्दो महँगीलाई ध्यान राखी कम्तीमा श्रमजीवी पत्रकारलाई प्रतिमहिना न्यूनतम ३० हजार तलब व्यवस्था गर्नुपर्ने, सक्रिय पत्रकारिता गर्ने पत्रकारका लागि हरेक सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा निःशुल्क शय्याको व्यवस्था गर्नुपर्नेलगायत माग गरिएको छ ।