काठमाडाैं । प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस आठ दिवसीय भ्रमणमा सोमबार नेपाल आउँदै छन् ।
आप्रवासी कामदारको अधिकार र सुविधाप्रति नेपाल सरकार प्रतिबद्ध रहेको तथा उनीहरुको मानवाधिकार संरक्षणमा संवेदनशील रहेको सन्देश उनको भ्रमणबाट प्रवाह हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।
विशेष समाधीक्षक मोरालेससहित अन्य दुई समाधीक्षकलाई नेपाल सरकारले आमन्त्रण गरेको जानकारी दिँदै प्रवक्ता पौड्यालले यसबाट मानवाधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध रहेको दर्शाउँने बताए ।
भ्रमणका क्रममा उनले नेपाली प्रवासी कामदारको अधिकार संरक्षणमा संलग्न सरकारी अधिकारी, रोजगारीदाता निकाय, आप्रवासनसम्बन्धी मामिलाका जिम्मेवार निकाय, नागरिक समाज, अन्तर्राष्ट्रिय संगठन, वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्ति तथा तिनका परिवारसँग विचारविमर्श गरिने कार्यक्रम छ ।