काठमाण्डाैं । नेपाल आयल निगमले खरिद गरेको जग्गामा भएको अनियमिततामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको आर्थिक चलखेलको अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो । अख्तियारले जग्गा खरिद प्रकरणमा जोडिएका करिब ३ सय जनाको बयान लिएको छ ।
अख्तियारका अनुसार जग्गा खरिद प्रकरणमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालीन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएको छ । आयोगले आयल निगमका १६ जना कर्मचारीसँग पनि बयान लिइसकेको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अख्तियारले बयानका लागि बोलाएको जानकारी दिनु भयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बयान लिन शुरु गरेको छ ।
खड्काकै संलग्नतामा जग्गा खरिदमा करिब १ अर्ब रुपैयाँ बराबरको घोटाला भएको आरोप लाग्दै आएको छ ।