काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका आयोजनामध्ये वास्तविक पुनःनिर्माण गर्नुपर्ने आयोजनाको मात्र डिजाइन र लागत स्वीकृत गराएर काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भई विपद्पछिको पुनर्लाभ कार्यढाँचाभित्र रहेका सम्बन्धित आयोजनाको हालसम्म सम्पन्न भएको प्रगति विवरण र आगामी योजनाबारे छलफल गर्न बोलाइएको कार्यशाला गोष्ठीमा यस्तो निर्देशन दिइएको हो ।
प्राधिकरणका सचिव मधुसूदन अधिकारीले पुनःनिर्माण गर्ने संरचनाको डिजाइन, लागत र खरिद गुरुयोजना प्राधिकरणबाटै स्वीकृत गराएर वित्तीय अनुशासनको पूर्ण पालना गर्न निर्देशन दिनुभयो ।
प्राधिकरणले भूकम्पपीडितको समस्यासँग सम्बन्ध राख्ने आयोजनालाई उच्च प्राथमिकता दिने जनाएको छ ।
उच्चस्तरको समन्वय र भूकम्पबाट क्षतिग्रस्त आयोजनाको मात्र पुनःनिर्माण गर्ने गरी कार्यक्रम पेश गर्नाका साथै आगामी आवको तयारी अहिलेदेखि नै शुरु गर्न पनि सचिव अधिकारीले निर्देशन दिनुभयो ।
भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको मात्र नभई राष्ट्रकै प्राथमिकतामा रहेका विषयमा ध्यान पुर्याउन उहाँले सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।