कठमाण्डौं । सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रक्रिया शुरु गरेको छ ।
मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकासका लागि सूचना गर्ने निर्णय गरेपछि मन्त्रालयले राजपत्रमा उक्त सूचना प्रकाशित गरी प्रक्रिया शुरु गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनु भयो ।
स्वेच्छिक अवकाशमा जान चाहने कर्मचारीलाई दिन सरकारले ५० अर्ब रुपैयाँ जुटाउनुपर्ने हुन्छ ।
अवकासमा जाने कर्मचारीले सात वर्षको एकमुष्ट निवृत्तिभरण पाउने छन् । समायोजनमा जान नचाहने कर्मचारीले स्वेच्छिक अवकासका लागि सूचना प्रकाशित भएदेखि ४५ दिनसम्म फारम भर्ने समयावधी तोकिएको छ ।
स्वेच्छिक अवकासका लागि मन्त्रालयले छुट्टै एकाई समेत गठन गरेको छ । कर्मचारी समायोजन ऐन, २०७४ मा संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको व्यवस्था गरेको छ ।