लुम्बिनी । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ।
गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिए।