खोटाङ । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो ।
निर्माण कार्य थालेको नौ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएपछि हिउँद वर्षा बाह्रै मास नदी वारपार गर्ने वातावरण बनेसँगै हलेसीमा दर्शनार्थी, पर्यटक ओइरिन थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गले छोएका कारण हलेसी आउन सहज भए पनि पुलको अभावमा वर्षाको समयमा आन्तरिक तथा बाह्य दर्शनार्थी कम आउने गरेका थिए । जयरामघाटको पक्की पुल गत मंसिर ८ गतेदेखि सञ्चालनमा आएको हो ।
हिन्दू, बौद्ध र किरात धर्मालम्बीको त्रिवेणीस्थल मानिने हलेसीमा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, कोरियालगायतका हजारौँ दर्शनार्थी आउने गरेका छन् ।