बाबियाचौर । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ ।
चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ ।
आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिनुभयो । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ ।
नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको सात मि चौडाइमा कालोपत्रे गरिने इ निरौलाले बताउनुभयो ।
विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मि फराकिलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँका बेलीब्रिजलाई विस्थापन गरेर मोटर जाने पक्की पुल निर्माण गरिने आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।