एजेन्सी । संयुक्त राष्ट्रसंघका अधिकारीले बढ्दो मानवीय आवश्यकता पूरा गर्नका लागि अन्तर्राष्ट्रिय एकता र लगानी बढाउनु पर्नेमा जोड दिएका छन् ।
विश्वभरका मानिसको आधारभुत आवश्यकता बढ्दै गएको तर त्यसलाई सम्बोधन गर्ने स्तरमा प्रयास हुन भने नसकेको राष्ट्रसंघले जनाएको छ । यसले गर्दा विभिन्न क्षेत्रमा मानवीय संकटको अवस्था आउनसक्ने भएकाले विश्व समूदाय एकजुट तथा लचिलो हुनु पर्ने राष्ट्रसंघका उप महासचिव जेन एलिएसनले बताउनुभयो ।
टर्कीको राजधानी स्थानबुलमा गएको महिना भएको विश्व मानवीय सम्मेलनका सहभागीले एकता तथा लगानी बढाउनु पर्ने र मानवीय अवश्यकता पूरा गर्नका लागि विश्व समुदाय लचिलो हुनु पर्नेमा जोड दिएको उहाँले बताउनुभयो ।
विश्वका विभिन्न क्षेत्रमा चलेको द्वन्द्व, त्यसले निम्त्यएको आप्रवासी तथा शरणार्थी समस्या, खडेरी, बाढी तथा समुद्री सहतहको वृद्धीका कारण मानव समुदाय समस्यामा पर्दै गएको राष्ट्रसंघ उपमहासचिव एलिएसनको भनाई छ ।
यी सबै समस्याको समाधानका लागि तत्काल प्रभावकारी काम सुरु गर्नु पर्ने र ढिलो गर्नका लागि एक दिन पनि समय नरहेको उहाँले बताउनुभयो । पछिल्लो तथ्यांक अनुसार विश्वका विभिन्न ४० देशका १३ करोड मानिसलाई जीवन रक्षाका लागि तत्काल सहायताको खाँचो रहेको देखाएको उहाँले बताउनुभयो ।
संकटमा रहेका सीमान्तकृत समूदायको आधारभुत आवश्यकता पूरा गर्नका लागि तत्काल लगानी बढाउनु पर्नेमा राष्ट्रसंघले जोड दिएको हो ।