एजेन्सी: अमेरिकाको फ्लोरिडास्थित ओरल्यान्डो शहरको एक नाइट क्लबमा आइतबार भएको गोलाबारीका क्रममा मर्नुअघि एक छोराले ह्वाट्सएपमार्फत म्यासेज गरेर ज्यान बचाउन सहयोग मागेको खुलेको छ ।
गोलीबारीका क्रममा नाइट क्लबको बाथरुममा थुनिएका ३० वर्षीय एडीले आफ्नो मोबाइलबाट ह्वाट्सएप प्रयोग गरी त्यहाँ भइरहेको सबै गतिविधिबारे आफ्नी आमालाई बताइरहेका थिए ।
उनले त्यही क्रममा आफ्नी आमालाई लगातार गोलीबारीबारेमा पुलिसलाई फोन गर्न भन्दै म्यासेज पनि पठाइरहेका थिए ।
मिना जस्टिस नामकी एक महिलाले क्लब बाहिर पुगेर बारम्बार आफ्नो छोरोबारे सोधीखोजी गरिरहेकी थिइन् ।
‘आइतबार बिहान क्लबभित्र मेरो ३० वर्षीय छोरो थुनिएको थियो’, उनले भनिन्, ‘मेरो छोरोले मोबाइल सन्देश पठाएर गोलीबारी भएको सूचना पुलिसलाई दिन भनिरहेको थियो ।’
मिनाका अनुसार गोलीबारी भएपछि उनका छोरासहित अन्य मानिसहरु ज्यान बचाउनका लागि नाइट क्लबको बाथरुममा छिरेका थिए ।
‘मेरो छोराले गोली चलेपछि आफू अन्य साथीहरु र क्लबमा आएका मानिसहरुसँगै लुक्न बाथरुममा छिरेको भनेको थियो’, उनले भनिन्, ‘छोराले नाइट क्लबमा चलाउने मानिस आफूहरुतिर आइरहेको भन्दै आफुलाई बचाउनका लागि म्यासेज पठाएको थियो ।’

आफ्नो ३० वर्षीय छोराले बन्दुकधारी आफूहरुतर्फ आइरहेको भनी पठाएको म्यासेज नै अन्तिम थियो । त्यसपछि मिनाका छोरा पनि बन्दुकधारीबाट भुटिएका अनुमान गरिएको छ ।
२४ घन्टा भइसक्दा छोराको अवस्था पत्ता नलागेकाले मारिएको अनुमान गरिएको छ । ५४ जना घाइतेहरु अस्पतालमा पुर्याइएको छ । तर ती घाइतेमा एडी छैनन् । नरसंहार मच्चाइएकाले एडी अन्य ४९ जनासँगै मारिएको अनुमान प्रहरीले गरेपनि शव फेला पार्न सकेको छैन ।
यस गे नाइट क्लबमा गोलीबारी हुँदा ५० जनाको ज्यान गएको छ । यो घटनामा ५३ जना घाइते भएका थिए । गोली चलाएर हत्या गर्ने व्यक्तिको नाम उमर मतिन रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ५० को ज्यान लिने मतिन न्युयोर्कमा बस्दै आएका थिए ।
गत नोभेम्बरमा फ्रान्सको पेरिसमा १२० जनाको मार्चमा बेल्जियममा ३५ जनाको ज्यान लिने गरी आक्रमण गरेको आतंकवादी संगठन आइएसले नै यो हमलाको जिम्मेवारी लिएको छ ।
Facebook Comments Box