म्यानचेस्टर (बेलायत) । निवृत्तिभरण लिइरहेका एक कर्मचारीले म्यानचेस्टर शहर परिषद्बाट प्राप्त पत्र खोलेर आफ्नो मृत्यु भएको खबर पाउँदा आश्चर्यमा परेको खबर सार्वजनिक भएको छ ।
परिषद्ले ती पूर्वकर्मचारीलाई मृत घोषित गरी अबउप्रान्त निवृत्तिभरण पाउन योग्य नरहेको भन्दै पत्र पठाएको हो ।
८३ वर्षीय मदनलाल कोसलाको श्रीमतीको नाममा पुगेको उक्त पत्रमा उहाँको श्रीमान्को मृत्युप्रति दुःख व्यक्त गर्दै परिषद्ले दिनेगरेको निवृत्तिभरण मदनलालको नाममा भएको र उहाँको अनुपस्थितिमा दिन नसकिने भन्दै श्रद्धाञ्जली सहितको जानकारी पठाएको हो ।
कोसलाकी श्रीमतीलाई अंग्रेजी लेखपढ गर्न नआउने भएकाले उहाँ आफैँले पत्र खोल्नुभएको थियो । यस्तो पत्र पाएपछि आफूहरू क्रुद्ध भएको कोसला परिवारले बतायो ।
परिषद्लाई यस गल्तीका बारेमा बताउँदा उसले स्थानीय रोजगार केन्द्रमा गएर आफू जीवितै भएको प्रमाण ल्याउन भन्यो ।
म्यान्चेस्टर शहर परिषद्का एक प्रवक्ताले श्रम तथा निवृत्तिभरण विभागको गल्तीका कारण आफूहरूले उक्त पत्र पठाएको बताए ।
उता श्रम तथा निवृत्तिभरण विभागका प्रवक्ताले बताए, “उक्त पत्रका कारण कोसला परिवारले भोग्नुपरेको असहजताप्रति हामी क्षमाप्रार्थी छौँ ।” यसबारे छानबिन हुने पनि उहाँले जानकारी दिनुभएको छ । मिरर युके