अमेरिका भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामासँग महत्वपूर्ण भेटवार्ता गरेका छन्।
स्थानीय समय अनुसार मंगलबार बिहान उक्त भेटमा परमाणु अप्रसार, रक्षा, ऊर्जा एवं विकासका विभिन्न सवालमा कुराकानी भएको बताइएको छ।
आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम छ।
ओवल अफिसमा भएको भेटवार्तापछि भारत र अमेरिकाले साझा विज्ञप्ति जारी गरी प्यारिसदेखि पठानकोट र ब्रसेल्सदेखि काबुलसम्म हालै भएका आतंकवादी हमलाको निन्दा गरेका छन्।
दुवै नेताहरुले चरमपन्थी गतिविधि मानव सम्भ्यताका लागि चुनौती भएको टिप्पणी गरेका छन्।
साथै त्यस्ता गतिविधिमा संलग्न हुनेहरुलाई कानुनी कारवाही गर्ने र चरमपन्थी गतिविधिविरुद्ध विश्वव्यापी समर्थन जुटाउन समझदारी दुई नेताहरुले गरेका छन्।
दुवै नेताले सन् २००८ को मुम्बई बम हमला र २०१६ मा पठानकोटस्थित सैनिक शिविरमा भएको आक्रमणका दोषीलाई कारवाही गर्न पाकिस्तानसँग माग गरेका छन्।
संयुक्त वक्तव्यमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को संरचनामा सुधार गर्ने र भारतलाई स्थायी सदस्यमा ल्याउन अमेरिकाले सहमति जनाएको उल्लेख छ। (बीबीसी)