विर्तामोड । झापाका अधिकांश सामुदायिक विद्यालयहरु पठन पाठन, भौतिक संरचना तथा अन्य व्यवस्थापनका हिसाबमा अहिले निजी विद्यालय भन्दा अब्बल साबित हुन थालेका छन् । केही बर्षअघिसम्म सामुदायिक विद्यालय भन्ने वितिक्कै अभिभावकहरुले आफ्ना बच्चा भर्ना गर्नका लागि नाक खुम्च्याउने गरेको अवस्थामा अहिले निजी विद्यालयहरुबाट नानीहरु निकालेर सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।
निजी विद्यालयहरुले अंग्रेजी माध्यममा पठन पाठन गर्ने गराउने हुनाले विगतमा त्यस्ता विद्यालयमा अभिभावक तथा विद्यार्थीको आकर्षण हुने गथ्र्याे । तर अचेल झापाका करीब ९० प्रतिशत सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठन पाठन शुरु गरेका कारण ति विद्यालयहरुमा विद्यार्थीको चाप बढन थालेको छ । कुनै विद्यालयमा त भर्ना कार्यक्रम रोक्नुपर्ने अवस्था समेत रहँदै आएको छ ।
विगत केही बर्षदेखि कनकाई नगरपालिकामा रहेको कनकाई माध्यमिक विद्यालयले अंग्रेजी माध्यममा पठन पाठन गराइरहेको छ । छेउछाउमा अंग्रेजी माध्यमका निजी विद्यालय नभएका होइनन् । तर जब उक्त उच्च माविले निजी विद्यालयले दिने सुविधा दिन सुरु गर्यो हवारह्वार्ती निजी विद्यालयका विद्यार्थी त्यहाँ भर्ना हुन थाले । जसमा त्यहीँ पढाउने शिक्षक शिक्षिकाका बच्चाहरु पनि छन् ।
देशका कतिपय सामुदायिक विद्यालयहरु विद्यार्थी अभावमा छट्पटाइ रहेका बेला झापाका धेरै सामुदायिक विद्यालयहरु भने निजी विद्यालयहरुसंग बराबर प्रतिस्पर्धा गरिरहेका छन् । विद्यालयका शिक्षक शिक्षिकाको कडा मेहेनत र समय सापेक्ष विषयहरुको पढाइ हुने भएकाले ति विद्यालयहरु अन्य सामुदायिक विद्यालयहरुमध्ये अग्रणी विद्यालयका रुपमा चिनिन थालेका छन् । सामुदायिक विद्यालयहरुमाझ मेचीनगरको आदर्श माध्यमिक विद्यालय नमूना विद्यालयको रुपमा विकसित हुँदै गएको छ ।

सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी उषा लिम्बुले आफ्नो विद्यालयको प्रगतिमा आफूलाई गर्व लागेको बताइन् । उनले भनिन्, ‘हाम्रो स्कूलको प्रगतिमा धेरै निजी विद्यालयका विद्यार्थीले आँखा लगाएका छन् । मलाई त गर्व लाग्छ यो विद्यालयमा पढ्न पाएकोमा ।’ चार बर्ष अगाडि उक्त विद्यालयको एसएलसी परीक्षाको परिणाम १७ प्रतिशत थियो । जब विद्यालयले फड्को मार्न थाल्यो, अर्काे त्यो प्रतिशत ३४ मा पुग्यो । त्यस्पछि ४५ प्रतिशत र यसपाली कुनै पनि विद्यार्थी अनुत्तीर्ण हुनु नपरेको विद्यालयका शिक्षकहरु बताउँछन् ।
जिल्ला शिक्षा कार्यालयले गत बर्ष बाल कक्षामा सर्वाेत्कृष्ट ठहर गर्दै उक्त विद्यालयलाई पुरस्कृत समेत गरेको थियो भने गत बर्ष नै उक्त विद्यालयका प्रधानाध्यापक खड्काले शिक्षा पदक समेत प्राप्त गरेका थिए । आदर्शका प्रधानाध्यापक हेम खड्काले शिक्षकहरुको मेहेनत र अभिभावकहरुको विश्वास भए सामुदायिक विद्यालयले प्रगति गर्न समय नलाग्ने बताए । उनले भने, ‘सरकारी श्रोत सबैलाई उत्तिकै हो । तर त्यसलाई परिचालन गर्न जान्नुपर्छ । सबभन्दा ठूलो कुरा इमान्दारी हो ।’
सामुदायिक विद्यालयले पनि चाहेको खण्डमा निजी विद्यालय भन्दा राम्रो कक्षाको व्यवस्थापन गर्न सक्दो रहेछ भन्ने झापाको झापा दुहागढीमा रहेको बाल सुवोधिनी आधारभूत विद्यालयले उदाहरण देखाएको छ । दुई बर्षअघि उक्त विद्यालय झापाकै उत्कृष्ट विद्यालयको रुपमा जिल्ला शिक्षा कार्यालयले घोषणा गर्नुका साथै पुरस्कृत समेत गरेको थियो । त्यो भन्दा अघिल्लो साल उक्त विद्यालयले उत्कृष्ट बाल विकास कक्षा सञ्चालन गरेको भन्दै जिशिकाले पुरस्कृत गरेको थियो । त्यस्तै प्रगति हिमाली आधारभूत विद्यालयले पनि गर्दै आएको छ ।
यि केही नमूना विद्यालयहरु हुन् । जिल्ला शिक्षा कार्यालय झापाका अनुसार दमकको हिमालय माध्यमिक विद्यालय, मेचीनगरकै बाल कल्याण मावि, चारपानेको मोहनमाया, महारानीझोडाको स्कूलचौन, अर्जुनधाराको लक्ष्मीपुर, मेचीनगरको कविशिरोमणि, धुलाबारी मावि, विर्तामोड महेन्द्र रत्न मावि लगायतका सामुदायिक विद्यालय अब्बल सावित भएका छन् ।
जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव विष्टका अनुसार केही बर्षअघिदेखि कक्षा १० को बार्षिक परीक्षामा ति विद्यालयहरुको परिणाम उच्च रहेको छ । विष्टले भने, ‘अहिले यति धेरै विद्यालयहरुले प्रगति गरेका छन् कि ति विद्यालयहरुलाई नमूनाको रुपमा लिने गरेका छौं । त्यस्ता विद्यालयहरुमा अंग्रेजी माध्यमबाट मज्जाले पढाई हुन थालेको छ ।’ उनले ९० प्रतिशत सामुदायिक विद्यालयले साना कक्षामा अंग्रेजी माध्यम र ६० वटा भन्दा बढी विद्यालयले पूर्ण रुपमा अंग्रेजी माध्यममा पठन पाठन गरिरहेको जानकारी दिए ।