काठमाडौं । पछिल्लो समयको चर्चित पुस्तक कर्म : सिकाइमा गहिरिएको खाडलका लेखक तथा पत्रकार दामोदर न्यौपाने सम्मानित भएका छन् ।
‘साहित्य र पत्रकारिताका माध्यमबाट नेपाली समाजमा चेतनाको दियो बाल्न अभ्यस्त भएर नेपालका दुरदराजमा छरिएर रहेका आम बालबालिकाको आवाजलाई राष्ट्रको आवाज बनाउने जुझारु पत्रकार’ भन्दै न्यौपानेलाई काठमाडौं चाबहिलको गोल्डेन पिक हाइ स्कुलले आफ्नो रजत महोत्सवको अवसर पारेर सम्मान गरेको हो ।
उनलाई राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा. शिवकुमार राईले सम्मानपत्र हस्तान्तरण गरे ।
सम्मान पत्रमा भनिएको छ—‘साहित्य, समालोचना, सम्पादन र पत्रकारीतालाई साधन बनाइ बनाइ सङलो नेपाली समाजको निर्माण गर्न चाहने व्यक्ति भएको र सिर्जनामा कहालीलाग्दो नेपाली समाजको सशस्त्र द्धन्द्धको चित्रमात्रै छैनन्, सानो सानो परिवेशभित्र भविष्य खोजी रहेका बालबालिकाको प्रशंसनीय कर्म समेत रहेको छ ।’
न्यौपानेका दुई वटा कृति प्रकाशित छन् । उनका दुवै कृति अनुसन्धानमुलक हुन् ।
उनको पहिलो पुस्तक एम्बुस्मा ६ वर्ष २०५२ सालदेखि २०६२ सालसम्म चलेको शसस्त्र युद्धमा आधारित भएर त्यतिबेलाको समाजको चित्रण गरिएको छ ।
दोस्रो कृति कर्म : सिकाइमा गहिरिएको खाडलमा बालबालिका केन्द्रित भएर गरिएको अनुसन्धानमा आधारित छ ।
समिक्षकहरुले कर्म नेपाली साहित्यको प्रवन्ध विधामा नयाँ धारको कृति भएको बताएका छन् ।