भद्रपुर । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेपालबाट निरक्षरता उन्मुलन गर्न आफू लागिपरेको बताएका छन् । सोमबार भद्रपुरस्थित विरेन्द्र उच्च माविको प्रांगणमा आयोजित झापालाई साक्षर जिल्ला घोषणा गरिएको सभामा बोल्दै मन्त्री पोखरेलले निरक्षरता उन्मुलन नभएसम्म परिवर्तनको सार्थकता नहुने बताए । आफू मन्त्री हुनुको उद्धेश्यमध्ये एउटा नेपालबाट निरक्षरता उन्मुलन गर्नु भएको उनको भनाई थियो । उनले भने, ‘साक्षर घोषणा सभामा प्रायः गरेर म आफैं पुग्ने गरेको छु । तर सबै ठाउँमा पुग्न भ्याउँदिन ।’ झापा साक्षर हुन ढिलो भएको भन्दै मन्त्री पोखरेलले असन्तुष्टि समेत व्यक्त गरे । उनले भने राजनीतिक दलहरुको अजेन्डामा साक्षरता नपरेको बताए ।
उनले गणतन्त्र घोषणा भएपछिको पुष्पकमल दहालको नेतृत्वको सरकारले नेपाललाई साक्षर घोषणा गर्नुपर्छ भनेर अवधारणा ल्याएको दाबी गरे । अन्य क्षेत्रको तुलनामा पूर्व सुगम भए पनि अहिलेसम्म साक्षरताको विषयमा पाँचथर र झापा मात्र साक्षर जिल्ला घोषणा हुनु शिक्षा क्षेत्रमा यहाँका राजनीतिक दलको ध्यान नगएको उनको भनाई थियो ।
कार्यक्रममा सांसद रविन कोइराला, नेपाली कांग्रेस झापाका सभापति उद्धब थापा, नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठक लगायतले बोलेका थिए ।
झापालाई साक्षर जिल्ला घोषणा गर्न सहयोग गरेको भन्दै मन्त्री पोखरेलले झापाका चारजना पत्रकारलाई प्रशंसा पत्र प्रदान गरे । प्रशंसा पत्र पाउनेहरुमा हिमशिखर टेलिभिजनका भूपाल लुईंटेल, कञ्चनजंघा एफएमकी भीमा शिवाकोटी, पूर्वाञ्चल दैनिकका सुरेन्द्र भण्डारी र प्रतिदिन दैनिकका राजेन्द्र गौतम रहेका छन् ।