भद्रपर । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सोमबार झापालाई साक्षर जिल्ला घोषणा गरेका छन् । देशभरमा साक्षर जिल्लाहरुमा झापा सत्ताइसौं जिल्ला भएको छ । भद्रपुरस्थित विरेन्द्र उच्च माविको प्रांगणमा आयोजित घोषणा सभामा मन्त्री पोखरेलले साक्षर जिल्लाको प्रमाण स्वरुप ताम्रपत्र जिल्ला शिक्षा समितिका अध्यक्ष स्थानीय विकास अधिकारी खेमराज ओझालाई प्रदान गर्दै साक्षर जिल्ला घोषणा गरेका हुन् ।
१५ देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत मानिस साक्षर भए साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको छ । अहिले जिशिकाको तथ्यांकमा ९८.३३ प्रतिशत उक्त उमेर समूहका मानिस साक्षर भएकाले झापालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ ।
झापालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको अवस्थामा अझै ८ हजार २ सय २४ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ । १५ देखि ६० बर्ष उमेर समूहका ८ हजार २ सय २४ जना व्यक्ति शिक्षाको पहुँचबाट अझै टाढा रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले बताए ।
झापामा उक्त उमेर समूहका मानिसको संख्या ४ लाख ९० हजार रहेको छ । उक्त संख्याको ९८.३३ प्रतिशत संख्या साक्षर रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले जानकारी दिए ।