शरणामती। जनता माध्यमिक विद्यालय, शरणामतीको कक्षा ११ र १२ मा अध्यनरत् गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको रमा–पद्म छात्रवृत्ति पुरस्कार एक कार्यक्रमका बीच वितरण गरिएको छ ।
विद्यालयमा आयोजिक औपचारिक सामारोहका बीच १५ जना विद्यार्थीलाई नगद ३ हजार रुपैयाँसहित प्रमाण–पत्र प्रदान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता एवम् कोषका संरक्षक हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै उनले दक्षिणी गाविस शरणामतीको सामाजिक र आर्थिक परिस्थितिसँग आफू परिचित रहेको भन्दै थप सहयोग गर्न उत्सुक रहेको बताए ।
कार्यक्रममा शरणामती प्रगतिशील युवा संघका सदस्य नेत्र प्रसाईं, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रुद्र बजगाईं, अभिभावक सखीचन्द्र ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्राध्यापक जगन्नाथ राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक भक्तबहादुर बानियाँले गरेका थिए ।