बिर्तामोड । अखिल क्रान्तिकारी कन्काई क्याम्पस इकाई समिति विर्तामोडले शुक्रबार शिक्षा क्षेत्रसँग सम्बन्धित १३ बुँदै माग सहित क्याम्पस प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको छ ।
क्रान्तिकारीको कन्काई क्याम्पस इकाई समितिका अध्यक्ष टीकाराम धमलाको नेतृत्वमा क्याम्पस प्रशासन गएको टोलीले क्याम्पस समितिको छलफलमा बिद्यार्थी प्रतिनिधिलाई अनिवार्य रुपमा सहभागी गराउनुपर्ने, त्रिभुवन बिश्वबिद्यालयले तोके बमोजिम परिक्षा शुल्क लिनुपर्ने, पुस्तकालयमा पर्याप्त पुस्तकको ब्यवस्था गर्नुपर्ने लगायतको माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
सबैखाले शैक्षिक बिकृति अन्त्यको माग राख्दै आएको क्रान्तिकारीले एमबीएस तहको शुल्क ब्यवस्थापन, सो तहमा छात्रबृतिको माग, शिक्षकहरुको नियमितता नभएको पाइएकोले शिक्षकलाई नियमित रुपमा क्याम्पसमा आउने वाताबरण सृजना गर्नुपर्ने, कलेज बसमा सिट क्षमताभन्दा बढी बिद्यार्थी चढाउन प्रतिबन्ध लगाउनुपर्ने, पुराना बसका कारण दुर्घटना बढेको भन्दै क्याम्पसले पुराना बस बिस्थापन गरि नयाँ बस खरिद गर्नुपर्ने लगायतको माग राखिएको छ ।
त्रिभुवन बिश्वविद्यालयको मापदण्ड बमोजिम १० प्रतिशत छात्रबृति दिनुपर्ने, नियमित रुपमा आन्तरिक परिक्षा लिनुपर्ने, माग बिद्यार्थीको छ । ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख सुरेशकुमार चापागाँईले बिद्यार्थीको मागप्रति सकारात्मक रहेको भन्दै ब्यवस्थापन समितिमा राखेर बिद्यार्थीको जायज माग पूरा गर्ने प्रतिबद्वता जनाएको धमलाले जानकारी दिए ।
क्रान्तिकारीका सहसचिब अस्मिता पराजुलीले सञ्चालन गरेको कार्यक्रममा बिद्यार्थी स्वयं सेवक समूहका अध्यक्ष गोपाल राईले मागप्रति क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण गरि अविलम्ब माग पूरा गर्न आग्रह गरेका थिए ।