एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी सानिमा सन् १९९८ मा उत्तर कोरियाबाट भागेर न्युयोर्कमा भूमिगत रूपमा लुगा धुने व्यवसायमा संलग्न रहेको तथ्य द वासिङटन पोस्टले खुलासा गरेको छ ।
को योङ सुक आफ्नो पति रि गाङ र तीनजना छोराछोरीका साथ अमेरिकी जीवन बिताइरहेकी छिन् । उत्तर कोरियाको कम्युनिस्ट सत्ताको नजिक रहेका को योङ सुक र उनका पतिलाई स्विट्जरल्यान्डमा अध्ययन गरिरहेका सत्तासीन परिवारका सदस्यको देखभालका लागि खटाइएको थियो ।
“किम जोङ अन धेरै चकचके त हैन तर अति रिसाहा र असहिष्णु थियो,” कोले किमका बारेमा बताइन् । “आमाले धेर नखेलेर पढ्न अह्राउँदा किम ओठे जवाफ त फर्काउँदैनथियो तर भोक हडताल गरेर विरोध जनाउँथ्यो ।”
कोले किम सन् १९८४ मा जन्मेको रहस्य खोलिन् । त्यसको अर्थ हुन्छ उनी २७ वर्षको उमेरमै सत्तासीन भइसकेका थिए । यसअघि सन् २०११ मा किमले सत्ता लिँदा उनको उमेर ३४ वर्ष रहेको कुरा सार्वजनिक भएका थिए । को अमेरिकातिर किन भागेकी हुन् भन्ने कुरा प्रस्ट छैन ।
स्विट्जरल्यान्डको राजधानी बर्नस्थित अमेरिकी राजदूतावासमा शरण लिएर को आफ्नो परिवारका साथ अमेरिका छिरेकी थिइन् । अमेरिकी जासुसी संस्था सिआइएले उनीहरूबाट उत्तर कोरियाका रहस्य लिन खोजेपनि उनीहरूले कुनै रहस्य नखोलेको कुरा कोले बताइन् ।